नेपाल सरकारले अमेरिकाका लगायत ११ देशका राजदुतलाई फिर्ता बोलाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिका सहित बेलायत, दक्षिण कोरिया, साउदी अरब, कतार, मलेसिया, डेनमार्क, स्पेन, पोर्चुगल, ईजरायल र भारतका ११ राजदुतलाई एकसाथ नेपाल फिर्ता बोलाएको हो ।
सरकारले फिर्ता बोलाएका राजदुतहरुमा अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि राजदूत ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाल र भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मालाई फिर्ता बोलाएको हो ।
मन्त्रिपरिषद्ले पोर्चुगलका लागि नियुक्त भै सकेका तर जान बाँकी रहेका राजदूत सनिल नेपालको नियुक्ति पनि बदर गरेपछि एकसाथ ११ राजदुत फिर्ता हुने भएका हुन् ।
मन्त्री परिसद्ले कांग्रेस, जसपा नेपाल सहितका दलका कोटामा राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वि.सं. २०७८ साल फागुनमा अमेरिकाका लागि राजदुत नियुक्त भएका खत्री नेपालको परराष्ट्र मामिलामा पहिलो पंक्तिका अन्तर्राष्ट्रिय मामला विज्ञ मानिन्छन् । उनकै संयोजकत्वमा परराष्ट्र नीति पुनरावलोकन उच्चस्तरीय समिति बनेको थियो ।







