अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा हालका महासचिव रामहरि अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। उनले अमेरिकाका विभिन्न शहरमा रहेका प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो एजेन्डा सार्वजनिक गरेका छन्।
संस्थाभित्र सशक्त, अनुशासित र समावेशी नेतृत्वको पहिचान बनाइसकेका अधिकारीले एनआरएनए अमेरिकालाई व्यक्ति होइन, समुदाय केन्द्रित संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार संगठनको आन्तरिक संरचना अझ स्पष्ट, उत्तरदायी र पारदर्शी बनाउन, सबै राज्य, च्याप्टर र सदस्यहरूबीच विश्वास र समन्वय बढाउन आवश्यक छ।
“म कुनै गुटको होइन, म संस्थालाई अझ पारदर्शी, उत्तरदायी र समावेशी बनाउन आएको हुँ,” अधिकारीले स्पष्ट रूपमा भने। “एनआरएनएलाई व्यक्तिको वरिपरि होइन, समुदायको केन्द्रमा राखेर अगाडि बढाउनु पर्छ।”
अधिकारीले हाल प्रवासी नेपाली समाजभित्र गहिरिँदै गएको गुट–उपगुट, गुनासो र विमुखताका कारण संस्था कमजोर बन्दै गएको उल्लेख गर्दै, अब परिणाममुखी र समन्वयकारी नेतृत्व आवश्यक भएको बताए।

मुख्य तीन एजेन्डा
संस्थागत सुधार र एकता — आन्तरिक संरचनामा पारदर्शिता र उत्तरदायित्व, सबै तहमा विश्वास, समन्वय र सहभागिता वृद्धि।
प्रवासी नेपालीका लागि कार्यक्रममुखी अभियान — व्यवसायिक तालिम, आपतकालीन सहायता, बीमा सहयोग, वृद्ध सहायता, शैक्षिक अवसरहरूजस्ता प्रत्यक्ष लाभदायी कार्यक्रम सञ्चालन।
नेपालसँगको सम्बन्ध र नीति संवाद — गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता, दोहोरो कर अन्त्य, लगानी प्रवाह, र नेपाल–अमेरिका सम्बन्ध सुदृढ गर्न अमेरिकी राजनीतिज्ञहरूसँग प्रत्यक्ष संवाद।
अधिकारीका अनुसार संघको सबभन्दा ठूलो चुनौती पारदर्शिता र गुटबन्दी हो। उनले भने, “संस्थाले अब भागबन्डा होइन, परिणाम दिन सक्ने नेतृत्व रोज्नुपर्छ। सबैलाई समान अवसर र सम्मान मिल्नुपर्छ।”
अन्त्यमा उनले सबै प्रवासी नेपालीहरूलाई आफ्नो अभियानमा साथ दिन आग्रह गर्दै भने, “सशक्त एनआरएनए बनाउन हामी सबै मिलेर त्यस्तो नेतृत्व रोज्नुपर्छ, जसले प्रत्यक्ष नतिजा दिन सकोस् र समुदायसँग सम्पर्कमा रही काम गरोस्।”
उनको “गुटमुक्त नेतृत्व” र “कार्यक्रमद्वारा प्रत्यक्ष प्रभाव” दिने प्रतिबद्धताले धेरैलाई आकर्षित गर्ने अपेक्षा छ। तर यसलाई कार्यान्वयनमा रुपान्तरण गर्न सक्ने क्षमता नै उनको उम्मेदवारीको सफलता वा असफलताको आधार हुनेछ।