डलास, टेक्सस — अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियर्स (ASCE) डलास शाखाले यस वर्षको ‘इन्जिनियर अफ द इयर २०२५’ को रूपमा सिभिल इन्जिनियर सूर्य भण्डारीलाई सम्मानित गरेको छ।
नेपालको चितवन माडी निवासी भण्डारी विगत १५ वर्षदेखि टेक्ससको डलासमा बस्दै आएका छन्। उनले एक प्रतिष्ठित पूर्वाधार निर्माण कम्पनीमा सहायक प्रबन्धक (Assistant Manager) का रूपमा काम गर्दै आएका छन्।
नेपालमै रहँदा सिभिल इन्जिनियरिङ क्षेत्रमा सक्रिय रहेका भण्डारी अमेरिकामा आएपछि पनि पेशागत र सामाजिक दुवै क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन्। उनी डलास एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष समेत हुन्। सन् २०२४ मा उनलाई ‘लायन अफ द इयर’ सम्मानले पनि विभूषित गरिएको थियो।
सामाजिक सेवामा निरन्तर सक्रिय भण्डारी हाल अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियर्स डलास शाखाका प्रेसिडेन्ट इलेक्ट (President-Elect) पनि चयन भएका छन्।
त्यसैगरी, सोही अवसरमा ‘आउटस्ट्याण्डिङ स्टुडेन्ट अवार्ड’ निशा स्थापित ले प्राप्त गरेकी छन्। उनले मास्टर अफ साइन्स इन सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरेकी हुन्।
अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियर्सले देशभरका सहरहरूमा पूर्वाधार निर्माण, इन्जिनियरिङ अनुसन्धान, र पेशागत सञ्जाल विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।







