वर्षौँसम्म पत्रकारितामार्फत सत्य र जनसरोकारका विषय उठाउँदै आएका वरिष्ठ पत्रकार ऋषि धमला औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। उनले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिँदै रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी मनोनयनका लागि रौतहट प्रस्थान गरेका हुन्।
पत्रकारितालाई आफ्नो पहिचान बनाएर लामो समयसम्म सञ्चार क्षेत्रमा सक्रिय धमलाले जनताको प्रत्यक्ष सेवामा समर्पित हुने उद्देश्यसहित यो नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्। पत्रकारिता छोडेर राजनीतिमा होमिनु सजिलो निर्णय नभए पनि गहिरो सोचविचारपछि आफू यो कदममा पुगेको बताइएको छ।
उनको राजनीतिक यात्रामा जीवनसाथीले पूर्ण साथ, विश्वास र संकल्पका साथ साथ दिएको जनाइएको छ। यो यात्रा पद प्राप्तिका लागि मात्र नभई जनताको सेवाका लागि भएको उनी निकट स्रोतको भनाइ छ।
आम जनता पार्टीले धमलाको अनुभव, स्पष्ट विचार र सत्यप्रतिको अडानले रौतहटका जनताको आवाज मजबुत रूपमा उठाउने विश्वास व्यक्त गरेको छ।







