राम प्रसाद अधिकारी , टेक्सास
अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने भएको छ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC), श्री पशुपतिनाथ मन्दिर तथा बुद्ध विहारको आयोजनामा आगामी सेप्टेम्बर ५, २०२६ शनिबार तीज विशेष दर कार्यक्रम आयोजना गर्न लागिएको हो।
श्री पशुपतिनाथ मन्दिरकी अध्यक्ष सीता सापकोटाका अनुसार प्रवासमा रहेका नेपाली समुदायबीच नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
डलास–फोर्ट वर्थ क्षेत्रमा रहेका नेपाली दिदीबहिनीहरूको सहभागितामा हुने कार्यक्रममा तीजका गीत, नाचगान, दर खाने कार्यक्रम, DJ तथा Dance Floor र Photo Shoot लगायतका विभिन्न आकर्षण रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ भने दर खाने समय दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्धारण गरिएको छ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।
कार्यक्रम NCSC परिसर, 1212 Royal Parkway, Euless, Texas 76040 मा आयोजना हुनेछ।
तीज नेपाली महिलाहरूको मौलिक सांस्कृतिक पर्वका रूपमा रहँदै आएको छ। तीजका अवसरमा दर खाने, गीत गाउने, नाच्ने तथा आफन्त र साथीभाइसँग भेटघाट गर्ने परम्परा नेपाली समाजमा लामो समयदेखि चलिआएको छ। प्रवासमा आयोजना हुने यस्ता कार्यक्रमले नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
अध्यक्ष सापकोटा प्रवासमा रहेर पनि नेपाली संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्न कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुहुन्छ। उहाँका अनुसार नेपालबाट टाढा रहे पनि नेपाली कला, संस्कृति र परम्परासँग जोडिन तथा नेपाली दिदीबहिनीहरूलाई माइतीघरको अनुभूति दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमले प्रवासमा रहेका नेपाली महिलाहरूबीच आपसी भेटघाट, सद्भाव र आत्मीयता बढाउनुका साथै नेपाली समुदायबीचको एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।







