एचडिएनपी अन्तराष्ट्रियले दुई हजार घरबारविहीनहरुलाई लुगाकपडा र खाना वितरण गर्ने

टेक्सास, अमेरिका
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा कृयाशिल सँस्था हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल ईन्टरनेशनल (एचडिएनपी अन्तराष्ट्रिय) ले सन २०२३ मा २ हजार घरवारबिहीनहरुलाई निःशुल्क खाना तथा लुगाकपडा बितरण गर्ने भएको छ ।
नेपाली समुदायका अगुवाहरुद्वारा स्थापित सो सँस्थाले आफ्नो कार्यक्रमलाई बिस्तार गर्ने क्रममा हरेक महिना घरवारबिहीनहरुलाई निःशुल्क लुगाकपडा बितरण तथा खाना खुवाउन लागेको हो । सन २०२३ को डिसेम्बर सम्म २ हजार जनालाई सेवा दिने लक्ष्य रहेको एचडिएनपी अन्तराष्ट्रियले जनाएको छ ।
ड्यालस फोर्टवर्थ क्षेत्रका घरबारविहीनहरुको अवस्था दयनिय रहेकाले उनीहरुलाई केही रहात पुगोस भनेर हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्न लागिएको सो सँस्थाका प्रमुख देबीडेभिड आचार्यले बताउनु भयो ।
आचार्यका अनुसार बिगतमा हामीले बिशेष अवसर पारेर होमलेस (घरबारविहीन) हरुलाई खाना तथा लुगाकपडाहरु बितरण गर्दै आएका थियौं । तर हामीले घरवारबिहिनहरुको आबश्यकता महसुस गरि सन २०२३ को जनवरी देखि हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्ने प्रयास गरिएको हो ।
सँस्थाले मौसम अनुसार खानाहरु, फलफुल तथा न्यानो लुगाको रुपमा ब्लाँकेट, सिल्पिङ व्याग, सिरानी, टाउजर, सुईटर सर्ट पाईन्ट टोपीहरु बितरण गर्दै आएको जनाएको छ ।
सँस्थाको तथ्याँक अनुसार सन २०२३ को जनवरीदेखि हालसम्म ३ सय ४४ जना घरबारविहीनहरुलाई खाना तथा लुगा वितरण गरिएको छ । गत साता मात्रै फोर्टवर्थ क्षेत्रको ई भिकेरीमा १ सय ५६ जनालाई खाना तथा लुगाकपडा बितरण गरिएको थियो । एचडिएनपी ईन्टरनेशनलले सन २०२३ को डिसेम्बरसम्म घरवारबिहिन ब्यक्तिहरुका लागि ड्यालस फोर्टवर्थ क्षेत्रमा गरिने राहतका कार्यक्रमहरुको तालिका समेत सार्बजनिक गरेको छ ।
एचडिएनपी ईन्टरनेशनलसँग घरबारविहीन ब्यक्तिहरुका लागि सन्चालन गरिने राहतका कार्यक्रमको लागि कुनै दातृ निकाय छैनन । सँस्थाले हरेक बर्ष डिसेम्बर महिनामा सँस्थाले गाला कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रममा सहभागि व्यक्तिहरुले व्यक्तिगतरुपमा प्रदान गर्ने डोनेशन रकम नै सँस्थाको आम्दानीको श्रोत हो, सामाजिक अभियन्ता तथा एचडिएनपी ईन्टरनेशनलका प्रमुख आचार्यले जानकारी दिनु भयो ।
एचडिएनपी ईन्टरनेशनल अमेरिकामा मानव सेवामा सकृय नेपालीहरुको पहिलो सँस्था हो । एचडिएनपी ईन्टरनेशनले सन्चालन गरेका कार्यक्रमहरुबाट घरबारविहीनहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन । एचडिएनपी ईन्टरनेशनलले सन्चालन गरिरहेको होमलेस (घरबारविहीन) हरुलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रमको उच्च मुल्याँकन गरेर टेक्सास राज्य सरकारले गत बर्ष पुरुस्कृत समेत गरेको थियो ।


