न्युयोर्कमा आयोजना हुने ‘नेपाल डे परेड’ कार्यक्रममा सुदूरपश्चिमेलीले डेउडा र छलिया नाच प्रदर्शन गर्ने

न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्कमा आगामी मे २१ आईतबारका दिन आयोजना हुन लागेको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली समुदायले गौरा, डेउडा, र छलिया लगायतका साँस्कृतिक झाँकीहरु प्रदर्शन गर्ने भएका छन ।
गैरआवासिय नेपाली सँघ अमेरिका न्यूयोर्क शाखाको नेतृत्व तथा न्यूयोर्क स्थित नेपाली समुदायका बिभिन्न सँघ सँस्थाको सहभागितामा हुन लागेको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमको छुट्टै पहिचान हुने गरि झाँकी प्रदर्शन गर्न लागिएको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका अध्यक्ष रामबहादुर देउवाले जानकारी दिनु भयो ।
अध्यक्ष देउवाका अनुसार नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली समुदाय आफ्नो छुट्टै पहिचानका साथ सहभागि हुने छन । सुदूरपश्चिमको प्रसिद्ध बाजा दाईन, दमाउ, सनईका साथमा सुदूरपश्चिमेली पोशाकमा गौरा, डेउडा तथा छलिया नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले जनाएको छ ।
नेपाल डे परेड कार्यक्रम म्यानह्याटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट बिहान ११ बजे परेड शुरू हुने आयोजकले जनाएका छन । नेपाल डे परेड कार्यक्रम नेपालीहरुको साझा कार्यक्रम भएकाले ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरि विभिन्न जातजाती संस्था र समुदायका संस्कृति झल्काउने विभिन्न पोशाक, झाँकी तथा नृत्यहरु, नेपालको पर्यटन प्रबद्र्धन गर्ने सामग्रीहरु समेत प्रदर्शन गरिने छ ।
नेपाली समुदायले आयोजना गर्न लागेको साझा कार्यक्रममा बिभिन्न जातीय तथा क्षेत्रीय सँस्थाहरुको सहयोग र सहभागिता रहने छ । ं२१ मे आईतबारका दिन आयोजना गरिने नेपाल डे परेड कार्यक्रममा सहभागिताका लागि न्युयोर्क र सो आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई सार्बजनिक रुपमा आह्वान गरिसकिएको गैर आवासिय नेपाली सँघ अमेरिका न्युयोर्क शाखाले जनाएको छ ।
नेपाल डे परेड कार्यक्रम नेपाली समुदायको महत्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा नेपाली समुदायका बिभिन्न बिविधता तथा प्रदर्शन गरिने बिभिन्न सामग्रीहरुले नेपाललाई थप चिनाउनुका साथै नेपालको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट बताउनु हुन्छ ।
सन २०१६ देखि हरेक बर्ष मे महिनाको तेश्रो आईतबार नेपाली पहिचानको रुपमा नेपाल डे परेड कार्यक्रम आयोजना हुँदै आएको छ । न्युयोर्क राज्यमा परेड कार्यक्रमका लागि तीन घण्टाको समय स्वीकृत गर्ने कानुनी व्यवस्था रहेको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । त्यसमध्ये अधिकांश नेपालीहरु न्यूयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
