राम प्रसाद अधिकारी ,
डलास, टेक्सास —
डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’ भव्य रूपमा सम्पन्न भएको छ।
शनिबार, सेप्टेम्बर ५, २०२६ का दिन श्रीकृष्ण प्रणामी मन्दिर, ७४८ ह्यारिसन लेन, हर्स्ट, टेक्सासमा आयोजित महोत्सव दिउँसो ४ बजेदेखि राति १ बजेसम्म सञ्चालन भएको थियो।
मन्दिरका सचिव लालप्रसाद दंगालका अनुसार महोत्सवमा करिब २०० देखि ३०० जना श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो। कार्यक्रममा भगवान् श्रीकृष्णको आराधना, भजन–कीर्तन, डडिया नाच तथा विभिन्न सांस्कृतिक नृत्य एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो। मन्दिरमा उपस्थित श्रद्धालु भक्तजनका लागि प्रसादको समेत व्यवस्था गरिएको थियो।
कार्यक्रमको अध्यक्षता श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष दीपक ढकालले गर्नुभएको थियो। अध्यक्ष ढकालका अनुसार नेपालमा हालसालै गएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रममा दीप प्रज्वलन गरिएको थियो। साथै विपद् प्रभावितका लागि राहतस्वरूप रकमसमेत संकलन गरिएको उहाँले जानकारी दिनुभयो।
अध्यक्ष ढकालले प्रवासमा नेपाली तथा हिन्दू समुदायबीच एकता कायम गर्दै धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। विशेषगरी अमेरिकामा जन्मिएका नेपाली बालबालिका तथा युवा पुस्तालाई आफ्ना मौलिक रीतिरिवाज, कला, संस्कृति र परम्पराबारे जानकारी गराउँदै उनीहरूलाई आफ्नो संस्कृतिसँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
उहाँले नयाँ पुस्तालाई समेत समेटेर नेपाली मौलिक संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र पुस्तान्तरणका लागि आगामी दिनमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा आयोजित महोत्सवले टेक्सासमा रहेका नेपाली तथा हिन्दू समुदायलाई धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा थप नजिक ल्याउने वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।






