— राम प्रसाद अधिकारी, टेक्सास
आज राति काम सकेर घर आइपुग्दा निकै थाकेको थिएँ। तातोपानी पिएँ, केही खानेकुरा खाएँ। त्यसपछि छोरालाई उठाएर बिहान करिब ७:०५ बजे विद्यालय पुर्याएँ। घर फर्किएर ओछ्यानमा पल्टिएको मात्र के थिएँ, रातभरको कामको थकानले कति बेला निदाएछु, पत्तै पाइनँ।
करिब बिहान ९ बजेको हुनुपर्छ। नेपालबाट बुबाको फोन आएछ। बुबाले पाँच–सात पटक फोन गरेपछि मात्र मेरो निद्रा खुल्यो। मोबाइल हेर्दा बुबाको नाम देखेँ। यो समयमा बुबाको फोन आउनु सामान्य थिएन। मन एक्कासि आत्तियो। बुबालाई थाहा थियो—यो समयमा छोरा सुतेको हुन्छ। त्यसैले पनि मनमा अनेक कुरा खेल्न थाले।
हतार–हतार फोन उठाएँ।
“हेल्लो” मात्र के भनेको थिएँ, उताबाट बुबाको आवाज आयो—
“कान्छा, आज त जमरा राख्ने दिन हो नि… घटस्थापना!”
म झसङ्ग भएँ। आज घटस्थापना रहेछ भन्ने कुरा नै बिर्सिसकेको रहेछु। तर बुबालाई भने, “अँ, थाहा छ बुबा। आज जमरा राख्छु। सबै सामान किनेर ल्याएको छु।”
बुबासँग झुट बोलेँ।
करिब २५–३० मिनेटसम्म बुबासँग कुरा भयो। घरपरिवारका कुरा गर्यौँ। त्यसपछि फोन राख्यौँ।
तर फोन राखेपछि मेरो निद्रा हरायो।
ओछ्यानमै पल्टिएर मनमनै सोच्न थालेँ—
यो परदेशमा केको दशैं? केको तिहार? कहाँको त्यो रमझम?
यति सोच्दा–सोच्दै आँखाहरू रसाउन थाले।
अनि मन अचानक धेरै वर्ष पछाडि पुग्यो।
पहिले–पहिले दशैं–तिहार आउँदा गाउँघरको रौनक नै अर्कै हुन्थ्यो। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विद्यालय बिदा हुन्थ्यो। आमा, भाउजू, बुहारी, दिदीबहिनीहरू घर–आँगन सफा गरेर जंगलबाट ल्याएको सेतो र रातो माटोले घर लिपपोत गर्नुहुन्थ्यो। गाउँका सबै घरहरू चिटिक्क देखिन्थे।
हामी बुबा र दाजुभाइहरू मिलेर गाउँका बाटाहरू सफा गर्थ्यौँ। नवरात्रभरि बिहानै उठेर मन्दिर जाने गर्थ्यौँ। मन्दिर जाने बाटोमा फुलेका पारिजातका फूलको सुगन्ध, खेतबारीमा लहलहाउँदै झुलेका धानका बालाहरू… आज पनि ती दृश्यहरू आँखै अगाडि आउँछन्।
साथीभाइहरू मिलेर लिङ्गे पिङका लागि बाँस काट्न जंगल गएको त्यो रमाइलो, पिङ हाल्ने तयारी, बुबाहरूले बाबियो र पाटबाट डोरी तयार गरिदिएको त्यो समय…
अनि गाउँको चौरमा विवाहित र अविवाहित केटाहरूबीच हुने फुटबल प्रतियोगिता!
कति रमाइलो हुन्थ्यो त्यो समय।
कामको सिलसिलामा सिमरा बाहिर तथा परदेश गएका दाजुभाइहरू दशैंमा घर फर्किँदा त झन् गाउँमा छुट्टै खुसी छाउँथ्यो। उनीहरूले ल्याइदिएको एउटा सानो चकलेट पनि हामीलाई संसारकै ठूलो उपहार जस्तो लाग्थ्यो।
त्यो बेला पैसा धेरै थिएन होला, तर मनमा खुसी धेरै थियो।
समय बित्दै गयो।
मानिसहरू परदेशिन थाले। गाउँका घरहरू खाली हुन थाले। अनि अहिले हामी पनि त्यही परदेशी भीडको एउटा हिस्सा बनेका छौँ।
घडीको सुईले करिब ११ बजाउन लागेको रहेछ। पुराना सम्झनाबाट आफूलाई बाहिर निकाल्दै उठेँ। अनुहार धोएँ र जमरा राख्न आवश्यक सामान किन्न नेपाली स्टोरतिर गएँ।
सामान लिएर घर फर्किएँ।
अनि परदेशकै यो बिरानो ठाउँमा भए पनि जमरा राखेँ।
जमरा राख्दै गर्दा फेरि मनमा एउटा प्रश्न आयो—
परदेशमा मनाइने दशैं सायद यस्तै हुँदो रहेछ।
दिनभरि कामको थकान। परिवारसँग पर्याप्त समय छैन। गाउँघरको जस्तो वातावरण छैन। न त त्यो पिङ छ, न गाउँको चौर, न साथीभाइको जमघट, न घर–आँगनको चहलपहल।
त्यसैले होला, परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ।
तर आज सोच्दा लाग्छ—गाउँघर पनि पहिले जस्तो कहाँ रहेछ र?
केटाकेटीहरू मोबाइलमा व्यस्त छन्। घरबाट बाहिर निस्केर साथीभाइसँग खेल्ने चलन कम हुँदै गएको छ। पहिले गाउँको पहिचानजस्तै बनेका लिङ्गे पिङहरू पनि अहिले धेरै ठाउँमा देखिन छोडेका छन्।
सम्बन्धहरूमा पनि पहिलेको जस्तो आत्मीयता हराउँदै गएको महसुस हुन्छ। पैसा कमाउने दौडमा कतिपयले आफ्नै आफन्त को हुन् भन्ने कुरा समेत बिर्सन थालेका छन्।
पहिले दशैंमा पैसा कम थियो, तर माया धेरै थियो।
अहिले पैसा होला, सुविधा होला, तर समय र आत्मीयता कम हुँदै गएको छ।
सायद यही कारणले अहिलेको दशैं र हाम्रो बाल्यकालको दशैंबीच यति ठूलो फरक महसुस हुन्छ।
हामी परदेशीका लागि दशैं–तिहार केवल एउटा चाड होइन। यी त घरको सम्झना हुन्, आमाको माया हुन्, बुबाको आवाज हुन्, दाजुभाइको आत्मीयता हुन्, गाउँको बाटो हुन्, त्यो चौर हो, त्यो पिङ हो, त्यो पारिजातको सुगन्ध हो र बाल्यकालको त्यो अमूल्य खुसी हो।
त्यसैले परदेशमा दशैं आउँदा मनले आफैँलाई सोध्छ—
“परदेशमा केको दशैं? केको तिहार?”
तर जहाँ भए पनि, जसरी भए पनि, हाम्रो संस्कार र परम्परा जीवित रहोस्। आफ्नाहरूबीचको माया र आत्मीयता कहिल्यै नमरोस्।
देशमा हुनुहोस् वा परदेशमा, सबैको घरमा सुख, शान्ति र समृद्धि छाओस्।
सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना। 🇳🇵🙏
— राम प्रसाद अधिकारी
भुईँ मान्छे, टेक्सास






