दुई बर्ष पहिले अमेरिकाको न्यूयोर्क आएका श्रवण कुमार सुवेदी विगत ४ महिनादेखि अस्पतालको शैयामा छट्पटाईरहेका छन् । दाङ जिल्ला वडा न १६ उत्तर कुरहरिया घर भै हाल न्युयोर्कमा रहदैं आएका सुवेदी उपचारत अस्पतालले उनलाई बचाउन नसक्ने घोषणा गरेपछि परिवार थप शोकमा डुवेको छ ।
अवैधानिक रुपमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका ३९ बर्षिय सुवेदीलाई न्युयोर्क आएको केही समयपछि नै घाँटी र टाउकोको क्यान्सर देखिएको थियो । अन्तिम चरणमा रहेको क्यान्सरका कारण उनले अमेरिका आएर पनि काम गर्न नसक्दा परिवारको समेत विचल्ली भएको छ । महंगो व्याजमा ठुलो रकम ऋण लिएर अमेरिका आएका उनलाई लामो समय एल्महर्स्ट अस्पतालमा राखिएको थियो तर अवस्था चिन्ताजनक बन्दै गएपछि हाल उनलाई क्वीन्सको जमैका अस्पतालको आईसियुमा कृतिम स्वास दिएर राखिएको छ ।
नेपालबाट सुवेदीका आफन्तको भिसाका लागी पहल भइरहेको जनाईएको छ । सुवेदीका आफन्त नआउँदा सम्मका लागि मात्र भ्यान्टिलेटरमा राखिएको उनको शरिर संधैका लागि अमेरिकामा नै अस्ताउने भएपछि ऋणको भारी र शोकमा डुवेको परिवारमा ठुलो संकट थपिएको छ भने सुवेदीको मृत्यु पछिको अन्तिम संस्कारका लागि समेत रकम जुटाउनु पर्ने अवस्था रहेको छ ।
अमेरिका आएको २ बर्ष भएपनि नयाँ ठाउँ र स्वास्थ अवस्था कमजोर भएकै कारण उनले कमाएर ऋण तिर्ने अवस्था रहेन । आफुसंग भएको सबै सम्पत्ती सहित अत्यन्त ठुलो रकम ऋण खोजेर विभिन्न राष्ट हुँदै अमेरिका आएका सुवेदीले लिएको महंगो व्याज सहितको ऋण तिर्न सक्ने अवस्थामा परिवार छैन । जसले गर्दा परिवारले लामो समयदेखी अत्यन्त कष्टकर अवस्थाको सामना गर्दै आएको छ । अल्पआयुमा नै संसारबाट विदा हुँदै गरेका सुवेदी नबाँच्ने निश्चित भएपछि सन्तान र परिवारको भविश्य समेत अन्यौलमा परेको छ ।
सुवेदीको परिवारको सहयोगार्थ यतिवेला राप्ती समाज न्युयोर्कको पहलमा गो फण्ड संचालन गरिएको छ । समाजका अध्यक्ष केशव बस्नेतका अनुसार ऋण र शोकमा डुवेको उनको परिवारको सहयोगार्थ गो फण्ड संचालन गर्नु परेको हो । अध्यक्ष बस्नेतले विपतको यस घडिमा सुवेदीको परिवारलाई सहयोगका लागि अमेरिकामा रहेका सम्पूर्ण राप्तीवासी साथै नेपाली समुदायहरुलाई अनुरोध गरेका छन् ।
श्रवण सुवेदीको परिवारलाई सहयोग गर्न तलको लिंकमा क्लिक गर्नुहोस