काठमाडौ पुस १७ गते । अमेरिकाका राष्ट्रपति जो बाइडेनले संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको असामयिक निधन भएकामा शोक प्रकट गरेका छन् । पञ्चानब्बे वर्षको उमेरमा शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको हो ।पूर्वप्रमुख पादरी बेनेडिक्टले इसाई धर्मको पुनर्जागरणका निम्ति गर्नुभएको योगदान र गिर्जाघरप्रतिको उनले समर्पणको अमेरिकी राष्ट्रपतिले प्रशंसा गरेका छन् । धर्मपत्नी जिलसहित विश्वभरका इसाई धर्मावलम्बीप्रति अमेरिकी राष्ट्रपतिले शोक व्यक्त गर्दै उनीहरूप्रति समवेदना व्यक्त गरेका छन् ।
शोक सन्देशमा अमेरिकी राष्ट्रपतिले पादरी बेनेडिक्ट एक निष्ठावान् व्यक्ति हुनुहुन्थ्यो भन्दै उहाँका सिद्धान्तहरूलाई विश्वले सधैँ सम्झने बताएका छन् । सन् २०१३ मा उहाँले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । छ सय वर्षपछि पदबाट त्यसरी राजीनामा गर्ने उनी पहिलो प्रमुख पादरी थिए । त्यस बेला उहाँले एक अर्ब २० करोड क्याथोलिकका गिर्जाघर सम्हाल्ने शक्ति आफूमा नरहेको घोषणा गर्दै पदबाट बाहिरिनु भएका थिए ।
जर्मनीका लजालु धर्मशास्त्री बेनेडिक्टले धर्मनिरपेक्ष युरोपमा इसाई धर्मलाई पुनजागृत गर्ने प्रयास गरेका थिए । आगामी बिहीबार पोप फ्रान्सिसको अगुवाईमा सेन्ट पिटर स्क्वायरमा उनको अन्त्येष्टि हुनेछ । सोमबारदेखि उनको शव सेन्ट पिटरको बासिलिकामा श्रद्धाञ्जलिका निम्ति राखिने भ्याटिकनले जनाएको छ ।विश्वका विभिन्न देशका नेताहरूले पूर्वपोपको निधनमा गहिरो दुःख व्यक्त गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।