गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकको नयाँ कार्यसमिती निर्वाचन २०२५ – ०२७ का लागि सदस्यता वितरणको विषय विवादित बनेपछि १७ च्याप्टरले संयुक्त विज्ञप्ती जारी गरेका छन् । सदस्यता वितरण सम्बन्धमा एनसीसी अध्यक्ष अर्जुन बञ्जाडे र महासचिव रामहरी अधिकारीविचको मतभेतले विवादित अवस्था सृजना भएपछि एनआरएनए अमेरिकाका विभिन्न राज्यमा रहेका १७ वटा च्याप्टरले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।
स्वतन्त्र, लोकतान्त्रिक, र विधिसम्मत संस्थाका रूपमा एनआरएनए को अस्तित्व र गरिमा कायम रहोस् भन्ने चाहना आफुहरुको भएको उल्लेख गर्दै टेक्सास च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाई, होता राम बिक(ओहायो), प्रकाश पौडेल (कोलोराडो), सुदन थापा (नर्थ क्यारोलाइना), जन्ग्बू शेर्पा (ओरेगन) बिशाल कार्की (भर्जिनिया), हरि ओझा (क्यालिफोर्निया), कपिल वाग्ले (जर्जिया), राज आचार्य (नेब्रास्का), सन्तोष सुबेदी (मिसिगन), उत्तम बस्नेत (कन्सास), सुन्दर मणि पौडेल (केन्टकी), राज कुमार हमाल (विस्कंसस ), सुर्य बस्ताकोटी (युटाह),दुर्गा प्याकुरेल (नभाडा), सुरेन्द्र लौडारी (फ्लोरिडा) र भक्त गुरुङ (न्यु जर्सी) च्याप्टरले सदस्यता वितरणको पक्षमा सर्व सम्मत रुपमा संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
सदस्यता वितरणका सम्बन्धमा एनआरएनए सचिवालयका नामबाट जारी सुचना सम्बन्धमा अध्यक्ष बञ्जाडेले आफुले यस कामका लागि स्वकृति नदिएको भन्दै, यस प्रकारको कार्य संस्थागत नियमको उल्लङ्घन अन्तरगत पर्ने बताएपछि सुचनालाई आधिकारिक मान्ने या नमान्ने भन्नेबारे यो पटक पनि अन्यौलता सृजना भएको थियो । एनसीसी अध्यक्ष बञ्जाडेले सार्वजनिक सुचनामा गएर महासचिव रामहरी अधिकारीको नाम नै उल्लेख गर्दै संस्थागत नितिप्रति ध्यानाकर्षण गराउँदै कृपया मेरो सहमति बिना मेरो नाम प्रयोग नगर्नुहोस् भनेपछि चर्चामा आएको यो विषयले नयाँ सदस्यताको तयारीमा रहेका तथा पुराना मतदाताहरुमा अन्यौलको वातावरण सृजना भएको थियो ।
यस्तो छ अमेरिकाका विभिन्न १७ च्याप्टरको संयुक्त विज्ञप्तीको पूर्ण पाठ
NRNA NCCमा देखिएको बिबाद को बिषयमा अमेरिका भरि गठन भएको गैर आवासीय नेपाली संघ (NRNA) NCC USA का Chapter अध्यक्षहरूको संयुक्त प्रेस विज्ञप्ति जारि गर्दै निम्म निर्णय हरु गरेको कुरा टेक्सास च्यापटर का अध्यक्ष दिपेन्द्र गुरागाईले जानकारि दिनु भयो |
मिति: May 22 2025
विषय: सदस्यता अभियान स्थगित गर्ने र कुनै पनि MIS पोर्टलमा सहभागिता नगर्ने निर्णय
हालको सन्दर्भमा NRNA NCC USA अन्तर्गत रहेका हामी विभिन्न राज्यका अध्यक्षहरूले संघमा देखिएको प्राविधिक र संस्थागत अन्योल,
Membership सम्बन्धी विवाद, तथा सदस्यता अभियानको पारदर्शिता र विधिसम्मत प्रक्रियाको सुनिश्चितताका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं।
हामी सबैले एउटा स्वतन्त्र, लोकतान्त्रिक, र विधिसम्मत संस्थाका रूपमा NRNA को अस्तित्व र गरिमा कायम रहोस् भन्ने चाहना राखेका छौं।तर हाल देखिएको Membership सम्बन्धी विवादले संघभित्र अनावश्यक भ्रम, अन्योल, र विभाजनको वातावरण सिर्जना गरेको छ। यो अवस्था संस्था र यसको सदस्यहरूको हितमा छैन। Membership Portal को विषयमा स्पष्ट प्राविधिक मापदण्ड, गोपनीयता सुरक्षाको ग्यारेन्टी, र संघको केन्द्रीय निर्णय अनुसार नै कार्यान्वयन हुनुपर्ने हाम्रो दृढ धारणा हो।
यसै सन्दर्भमा, हामी NCC USA अन्तर्गतका सक्रिय तथा संवैधानिक रूपमा मान्य अध्याय अध्यक्षहरूको तर्फबाट निम्न निर्णयहरू सर्वसम्मत रूपले गरेका छौं:
१. सदस्यता अभियान रोक्ने निर्णय
हालको संस्थागत अन्योल, MIS Portal को अस्पष्टता, तथा पूर्ण बोर्डको बहुमतबाट कुनै पनि स्पष्ट निर्णय नभएको अवस्थालाई ध्यानमा राख्दै, हामीले सदस्यता अभियान तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका छौं। सदस्यता अभियान जस्तो महत्वपूर्ण कार्य पारदर्शी, समावेशी, र सबै पक्षको सहमतिमा मात्र सञ्चालन हुनुपर्दछ। यस्तो कार्य कुनै पक्षीय वा असंवैधानिक प्रक्रियाबाट थोपिनु हुँदैन।
२. कुनै पनि MIS Portal प्रयोग नगर्ने
संघमा दुई किसिमका MIS Portal प्रस्तावित छन् — एक NCC USA तर्फबाट र अर्को ICC तर्फबाट एउटा NCC USA ले “भर्खरै बनाएको नया MIS सिस्टम र अर्को पहिला देखिनै प्रयोगमा आएको पुरानो MIS सिस्टम जस्मा ICC को पनि संलग्नता छ“। दुबै Portal ले सदस्यता संकलनका लागि आ-आफ्नो प्रणाली अघि सारेका छन्। तर, जबसम्म संघको पूर्ण बोर्डबाट बहुमतको निर्णय भएर एउटै Portal लाई मान्यता दिइंदैन, हामी राज्यका अध्यक्षहरूले कुनै पनि MIS Portal प्रयोग नगर्ने निर्णय गरेका छौं। हामी विश्वास गर्छौं कि Portal को प्रयोग तथा सदस्यता संकलनको प्रक्रिया संस्थाको विधान, नीति, र सर्वसम्मत आधारमा मात्र अघि बढ्नुपर्छ।
३. तटस्थता कायम गर्ने
हामी NCC USA का राज्यका अध्यक्षहरूले कुनै पनि विवादास्पद पक्षमा उभिनु उचित ठान्दैनौं। संस्थाको दीर्घकालीन हितका लागि, अहिलेको असमझदारी र विवादको वातावरणमा हामीले आफूलाई तटस्थ राख्ने निर्णय गरेका छौं। यो निर्णय कसैको विपक्षमा होइन, बरु संस्था एक ढिक्का बन्न र सबैको विश्वास जित्नसक्ने वातावरण निर्माण होस् भन्ने चाहनामा आधारित छ।
४. पारदर्शिता र समावेशीताको माग
हामी संघका केन्द्रीय नेतृत्व समक्ष स्पष्ट माग राख्न चाहन्छौं कि MIS Portal को विषयमा पारदर्शी र समावेशी छलफल होस्, सबै पक्षलाई समान रूपमा सुन्ने, बुझ्ने, र सहमतिमा ल्याउने प्रयास होस्, र एक पटक निर्णय भएपछिको कार्यान्वयनमा एकरूपता होस्। संस्थामा पारदर्शिता, जवाफदेहिता, र विधिको शासन कायम रहनु अत्यावश्यक छ।
५. अध्यायहरूको एकता र सहकार्य
हामी NCC USA अन्तर्गत रहेका सबै राज्यका अध्यक्षहरूले आ–आफ्नो अधिकार, जिम्मेवारी र दायित्व अनुसार समन्वयमा रहन, संस्था भित्रको मतभेदलाई संवादमार्फत समाधान गर्न, र सदस्यहरूलाई सही जानकारी उपलब्ध गराउन आग्रह गर्दछौं। संस्था बलियो बनाउने बाटो सहकार्य, समझदारी र सम्मान हो भन्ने हामी सबैको साझा बुझाइ हो।
निष्कर्ष
गैर आवासीय नेपाली संघ हाम्रो साझा संस्था हो। यसको एकता, अखण्डता र विश्वसनीयता हामी सबैको साझा जिम्मेवारी हो। Membership Portal को विवाद संस्थाको गरिमामा आँच पुर्याउने खालको हुन नदिन हामी सबै सजग रहनुपर्छ। सदस्यता संकलन र Membership Portal सम्बन्धी विषयवस्तुमा अबको निर्णय पूर्ण बोर्डको बहुमतबाट मात्र हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।
हामीले यस निर्णयलाई संघमा सकारात्मक रूपले बुझिने विश्वास गरेका छौं। सबैपक्षलाई यो सन्देश गम्भीरतापूर्वक लिन, र समग्र संघीय हितमा अघि बढ्न आग्रह गर्दछौं।
हामी सधैं संस्थाको हितमा, समावेशी नेतृत्व र एकजुटताका पक्षमा छौं।
“हाम्रो यो निर्णयलाई NCC का जिम्मेवार सदस्यहरुले गम्भीरतापूर्वक लिन हार्दिक अनुरोध गर्दछौं। यदि यसलाई सबोधन गरिएन भने, NRNA USA Chapter ले अर्को वैकल्पिक प्रणाली तयार पारेर अगाडि बढ्न तयार छ भन्ने कुरा यहाँ जानकारी गराउन चाहन्छौं। यो सूचना ध्यानमा राख्नुहोला।”
(NRNA NCC USA का राज्यका अध्यक्षहरूको तर्फबाट)
१.दिपेन्द्र गुरागाई (टेक्सास)
२. होता राम बिशोवाकर्मा (ओहायो)
३. प्रकाश पौडेल (कोलोराडो)
४. सुदन थापा (नर्थ क्यारोलाइना)
५. बिशाल कार्की (भर्जिनिया)
६. कपिल वाग्ले (जर्जिया)
७. जन्ग्बू शेर्पा (ओरेगन)
८.हरि ओझा (क्यालिफोर्निया
९.सन्तोष सुबेदी (मिसिगन)
१० .सुन्दर मणि पौडेल (केन्टकी)
११.राज आचार्य (नेब्रास्का)
१२. उत्तम बस्नेत (कन्सास)
१३. राज कुमार हमाल (विस्कंसस )
१४. सुर्य बस्ताकोटी (युटाह )
१५. दुर्गा प्याकुरेल ( नभाडा )
१६ सुरेन्द्र लौडारी ( फ्लोरिडा )
१७ भक्त गुरुङ ( न्यु जर्सी )







