अमेरिका, अगष्ट २०२५ — गैरआवासीय नेपाली संघ (NRNA NCC USA) को आगामी २०२५–२०२७ कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा सरोज सिग्देलले आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रवासी नेपाली समुदायको हितका लागि दीर्घकालीन दृष्टिकोणसहितको योजनाबद्ध अभियान सुरु गरेका छन्।
सिग्देल, जो लामो समयदेखि एनआरएनए गतिविधिमा सक्रिय रहँदै आएका छन्,ले विगतमा आर्जित अनुभव र ज्ञानलाई निरन्तरता दिँदै नेपाली प्रवासी समुदायलाई साझा उद्देश्य र दृष्टिकोणअन्तर्गत एकताबद्ध बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार, उनको नेतृत्व केवल संस्थागत विकासमा सीमित नहुनेछ, बरु यसमा सांस्कृतिक पहिचानको संरक्षण, नयाँ पुस्तामा देशप्रेमको भावना जागरण, र विश्वभर छरिएर रहेका नेपालीबीच आपसी विश्वास र सहकार्यको वातावरण मजबुत बनाउने लक्ष्य हुनेछ।

उनले आफ्नो प्राथमिकता सूचीमा तीन मुख्य विषयहरूलाई अग्रस्थान दिएका छन् —
- नागरिकताको निरन्तरता
- दोहोरो कर खारेजी
- लगानीमैत्री वातावरणको प्रवर्द्धन
“एउटै दृष्टिकोण – एउटै लक्ष्य – एउटै साका” भन्ने नारासहित अघि बढेका सिग्देलले आफ्नो नेतृत्वको आधारशिला एकता, पारदर्शिता र दीर्घकालीन सोच हुने स्पष्ट पारेका छन्। उनका अनुसार, प्रवासी नेपालीबीच एकताको सुदृढीकरण, पारदर्शी संस्थागत संरचना निर्माण र दीर्घकालीन नीति तथा योजनाले मात्र एनआरएनएलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सकिन्छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालीको पहिचान र हैसियत मजबुत बनाउन, प्रवासी नेपालीका अधिकार संरक्षण गर्न, र मातृभूमिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन उनले आफ्नो सम्पूर्ण ऊर्जा र समय समर्पण गर्ने वाचा गरेका छन्।
