घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सास राज्यको ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने पत्रकार तथा नेपाली समुदायका अगुवाहरुले पत्रकारहरु र नेपाली समुदायका बीचको सम्बन्धलाई थप घनिष्ट र परिस्कृत बनाउदै लैजानु पर्ने कुरामा जोड दिएका छन ।
नेपाल अमेरिका पत्रकार सँघ.(नेजा) द्वारा आज ड्यालसमा आयोजना गरिएको सामुदायिक अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले अमेरिकामा सन्चालित नेपाली भाषाका मिडिया नेपाली समुदायको अभिन्न अँग भएकाले मिडियाले नेपाली समुदायका विषयहरुलाई उच्च प्राथमिकता दिनु पर्ने बिचार व्यक्त गरेका थिए । पत्रकारहरुले सामुदायिक पत्रकारिताको माध्यमबाट आपसी सम्बन्धलाई थप घनिष्ट बनाउदै लग्नु पर्ने र समुदायले पनि नेपाली मिडियालाई टिकाई राख्न सहयोग गर्नु पर्ने सहभागिहरुको भनाई थियो ।
नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बाबुराम दाहालको सन्चालनमा सम्पन्न सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले अमेरिकाबाट सन्चालन भईरहेका मिडियाका लक्षित बर्गपनि नेपाली समुदायनै भएकाले नेपालीहरुले प्राप्त गरेका सफलताहरु, सँघर्षका कथाहरु र समुदायका लागि दिएको योगदानका सामग्रीहरु मिडियाले समेट्न सकेमा नेपालबाट हेर्ने दृष्टिकोणमा समेत परिबर्तन हुने धारणा राख्नु भयो ।
बरिष्ठ उपाध्यक्ष बिष्टले नेपाल पत्रकार महासँघ र नेपाल अमेरिका पत्रकार सँघ (नेजा) बिचको सम्बन्धको चर्चा गर्दै भबिश्यमा पनि दुई सँस्था बीचको सम्बन्ध थप बलियो बनेर जाने बिश्वास व्यक्त गर्नु भयो । नेजाद्वारा स्थापित ठूलो धनरासीको ग्रामीण उत्कृष्ट पत्रकारिताका पुरस्कारले नेजालाई समुदायस्तरमा स्थापित गरिसकेको बताउदै पत्रकारिता पुरस्कारले नेपालका पत्रकारहरुलाई सामुदायिक पत्रकारिता गर्न प्रेरित गरेको धारणा व्यक्त गर्नु भयो ।
यसैगरि नेपाली समाजका कार्यवाहक अध्यक्ष जनक भण्डारीले नेपाली समाज र मिडिया हातेमालो गर्दै अगाडी बढ्ने हो भने नेपाली समुदायका लागि धेरै काम गर्ने अवसर रहेको बताउनु भयो ।
युलेश सिटि काउन्सिल सदस्य टीका पौडेलले नेपाली समुदायलाई सूचना शिक्षा दिने कार्यमा नेपाली मिडियाले महत्वपूर्ण भूमिका खेलेको बिचार ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सहभागि नेपाली समुदाय र पत्रकारहरुले नेपाल पत्रकार महासँघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई नेजा र महासँघ बीचको सम्बन्धको दिगोपनाको बिषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागिका तर्फबाट बिडिए टेक्ससका अध्यक्ष अजय बगाले, नेजाका उपाध्यक्ष सुजन पण्डित, क्षेत्रीय सँयोजक रोशन अधिकारी, नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेती, रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मी, महासचिब ओम आचार्यले नेपाली समुदाय र मिडिया बीचको सम्बन्धको बर्तमान अवस्था, सम्बन्धलाई अझ बलियो बनाउन ध्यान दिनु पर्ने कुराहरुका बिबिध बिषयमा भनाई राख्नु भएको थियो ।











