कोरियाले पोखरामा हरित रोजगारी सृजनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । यस विषयमा नेपालका लागि कोरियाली राजदूत तेयोङ पार्क र अर्थ सचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा दुई देश विचको सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै ९८ लाख अमेरिकी डलर पोखरामा हरित रोजगारी योजनाका लागि प्राप्त हुने भएको हो ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत पोखरा महानगरपालिकालाई प्रदान गरिने सो रकम अन्तरगतको योजना हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ ।
महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिने बताईएको यस परियोजनाबारे बोल्दै राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् भने अर्थ सचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश रहेको बताए।







