अमेरिका निवासी खिम केसीको गजल संग्रह ‘लोरी’ नेपालमा विमोचन हुने भएको छ । नेपाली साहित्य र सञ्चार क्षेत्रमा सफल लेखकिय छवि बनाएका केसीको पहिलो संग्रहित कृतिका रुपमा बजारमा आउने तयारीमा रहेको गजल संग्रह ‘लोरी’ केसीको गृह नगर दाङको घोराईमा विमोचन हुने भएको हो ।
जुन महिनामा विमोचन हुने भनिएको लोरीका लागि गजलकार केसी नेपाल आउने तयारीमा रहेका छन् । १ सय फरक शिर्षकका गजलहरु संग्रहित लोरी बिएन प्रकासनले बजारमा ल्याउन लागेको हो ।
गजलकार केसीले रिपोर्टर्स क्लब अमेरिकालाई दिएको जानकारी अनुसार संग्रहमा देश प्रेम, परिवारप्रतीको लगाब, कला, संस्कृती, भेष भुसा, राजनीतिक अवस्था, आफुले कर्णाली र सुदूरपश्चिममा बिताएका तिता मिठा अनुभव, परदेशको तितो यथार्थलाई प्रतिनिधित्व गर्ने खालको विषय समेटिएको छ ।
विगत ६ वर्षदेखि अमेरिकाको क्यालीफोर्नियामा रहेर नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका लेखक केसीका नेपाल रहदाँबाट नै विभिन्न लेख तथा रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् भने अमेरिकामा हुने विभिन्न साहित्यिक कार्यक्रममा उनको सहभागिता रहँदै आएको छ । सालिन व्यक्तीत्व र सफल लेखकिय छवि स्थापित केसीको कृतिका रुपमा लोरी पहिलो गजल संग्रह भएपनि धेरै साहित्यकर्मीले उनको कृतिलाई महत्वका साथ हेरेका छन् ।
