आज जुन ४ तारिक अर्थात टि २० विश्वकपका लागि नेपालको पहिलो खेल हुने दिन । आज टेक्सासको ग्रान्ड प्रियरी मैदानमा नेदरल्याण्डसंग प्रतिस्पर्धामा उत्रदै गरेको नेपाली खेलाडीको सम्मान र हौसलामा केही दिन यता टेक्सासमा विभिन्न कार्यक्रमहरु भै रहेका छन् । खेलाडीसंग रात्रिभोज, नेपालबाट आएका पत्रकारहरुसंग अन्तरक्रिया लगायतका कार्यक्रम भै रहेको टेक्सासमा आजको दिन विषेश महत्वमा रहेको छ टेक्सास संगै क्यालिफोर्निया लगायत राज्यबाट खेल हेर्न आएका नेपालीहरु यतिवेला नेपाली मन्दिरमा जम्मा भै सकेका छन् । बिजयीको कामना सहित दर्शकहरु नाचगान गरिरहेका छन् भने पञ्चेवाजा सहितको कार र्याली केही बेरपछि खेल मैदान प्रवेश गर्दैछ ।
टेक्सासको समय अनुसार आज विहान १० बजेर ३० मिनेटमा सुरु हुने खेलका लागि आज विहानैबाट टेक्सासको पशुपतिनाथ तथा बौद्ध विहार मन्दिरमा खेलप्रेमि तथा सरोकारवालाहरुको उपस्थिती सुरु भएको छ । खेलाडीहरुको हौसला र जीतको लागि कामना सहित आजको खेल हेर्न ग्रान्ड प्रियरी मैदानमा जाँदै गरेका दर्शकहरु नेपाली मन्दिरमा भेला भएर खेलाडी सहित स्टेडियम प्रस्थानको कार्यक्रम रहेको छ । नेपाली जर्सी सहित ढाका टोपिमा समेत देखिएका खेलप्रेमी दर्शकको उत्साह लोभलाग्दो देखिन्छ ।
एनआरएनए अमेरिका एनसीसी टेक्सास च्याप्टरको पहलमा हुँदै गरेको यस भेलामा कारपुल गरेर दर्शकहरु एकसाथ खेल मैदान जाँदै छन् । नेपालको पहिलो खेल नै टेक्सासबाट हुने भएपछि सर्व बाहुल्य नेपाली राज्य टेक्सासका नेपाली समुदायका लागि यो खेल उत्सवका रुपमा देखिएको छ । तयसैले पनि यस खेलमा नेपालीहरुको संख्यात्मक सहभागिता उत्साहजनक देखिने निश्चित छ । त्यसैले पनि सामुहिक रुपमा एकसाथ दर्शकहरु खेल मैदान जाने तयारीमा छन् ।

जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी(२० विश्वकपका लागि नेपाली टिमका तर्फबाट विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी(२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा श्रीलंकासँग, जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।








