अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई ५ अर्ब ५९ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता ऋण उपलब्ध गराउन लागेको हो ।
यस विषयमा आईएमएफको एशिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोली र अर्थमन्त्री वर्षमान पुनविच भएको भेटमा चौथो किस्ता बापत ५ अर्ब ५९ करोड अर्थात् ४२ मिलियन अमेरिकी डलर नेपाललाई उपलब्ध गराउनेबारे छलफल भएको थियो ।
अर्थ मन्त्रालयमा भएको यस भेटवार्तामा आईएमएफले प्रतिनिधिले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरेका छन् ।
त्यस्तै भेटका क्रममा डा. किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकासा गर्ने जानकारी दिएका थिए भने मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताएका थिए दिएका थिए ।
आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई विस्तारित कर्जा अन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात् चौथो किस्ताबापत ५ अर्ब ५९ करोड अर्थात् ४२ मिलियन अमेरिकी डलर उपलब्ध गराउन बाँकी छ ।