– माधव घिमिरे ‘अटल’
मुक्तककार तीर्थराज अधिकारीकृत दशौँ कृति तथा पछिल्लो मुक्तकसङ्ग्रह ‘सारवत्’को राजधानीमा विशद परिचर्चा सुसम्पन्न गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा आयोजित सो समारोहमा प्रमुख अतिथि विख्यात साहित्यकार ज्ञानुवाकर पौडेलले ‘सारवत्’ मुक्तकसङ्ग्रहमा शब्द, शिल्पको विशेष प्रयोग भएको भन्दै मुक्तकण्ठले अधिकारीको सराहना गरे । अधिकारीको काव्य कुशलतालाई छिनो र हतौडाको चोट स्विकारेर बनेको आकर्षक मूर्तिको दृष्टान्त दिँदै त्यस्तो मूर्तिलाई मात्र देवलमा बसी भक्तहरूबाट पुजिने अवसर मिल्ने बताए । अस्वस्थ आलोचनालाई समेत शमन गर्ने सामर्थ्य भएकैले अधिकारी बखानलायक मुक्तककार भएको उनको दाबी थियो ।
यसरी नै चर्चित एवम् खरो समालोचकको गर्विलो स्थान बनाएका प्रा.डा. लक्ष्मण गौतमले विकृति र विसङ्गति विरुद्ध कडा प्रहार, शृङ्गारिक पाटोमा उदात्तता, भावनामा विशालता तथा सिर्जनामा गाम्भीर्य अधिकारीको वैशिष्टय भएको उल्लेख गर्दै पश्चिमी सभ्यताबाट मुक्तकको संरचना आएको हल्ला निराधार भएको उनको कथन थियो । यतिमात्र नभई दर्शनशास्त्रीय दृष्टिले समेत ‘सारवत्’ अब्बल भएको उनको तर्क थियो ।
युवा समालोचक तथा साहित्यकार महेश पौड्यालले अधिकारीका मुक्तकमा जीवन-दर्शन, नैतिक मूल्य, प्रेम र प्रणय भएको अवगत गराउँदै राजनीतिक विकृति विरुद्ध भने निर्मम व्यङ्ग्य प्रहार भएको बताए ।
त्यसरी नै कवि तथा समीक्षक लीला लुइटेलले ‘सारवत्’ क्रान्तिकारी र मानवतावादी मात्र नभई प्रकृति, अध्यात्म र प्रेमको त्रिवेणी भएको राय व्यक्त गरिन् । लुइटेलले मुक्तक सुललित एवम् सुन्दर सजावटको संयोजन समेत भएको तर्क गरिन् ।
मुक्तकमणि तीर्थराज अधिकारीले रचना-गर्भबारे चर्चा गर्दै ‘सारवत्’ अब सार्वजनिक सम्पत्ति भइसकेको विचार अभिव्यक्त गरे । उनले अनेसास नेपाल च्याप्टर लगायत सघन तथा गरिमामय उपस्थितिप्रति सबैमा हार्दिक कृतज्ञता प्रकट गरे ।
उक्त कार्यक्रममा विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ मार्क्सवादी चिन्तक तथा स्तम्भकार नरेन्द्रजङ पिटर, प्रा.डा. रामप्रसाद दाहाल, मुक्तक मञ्चका अध्यक्ष रामकाजी कोने, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, मूर्धन्य लघुकथाकार खेमराज पोखरेल, मुक्तक अभियन्ता सुनिल अधिकारी, अनुवादक भोजराज न्यौपाने, साहित्यकारहरू माधव बिडारी, प्रतीक घिमिरे, नवीन पल्लव, निबन्धकार श्रीबाबु कार्की, पत्रकार जयराम बिडारीलगायत लब्ध-प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले आगन्तुक तमाम अभ्यागतहरूलाई धन्यवाद ज्ञापन गर्दै बिट मारेको कार्यक्रममा स्वागत मन्तव्य मन्जिला अनिलले दिएकी थिइन् भने सहजीकरण मुक्तककार निर्मलरमण पराजुलीले गरेका थिए ।