अन्तराष्ट्रिय ख्यातिप्राप्त बरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुईतले टेक्सास आउँने भएका छन् । डा. रोईत आउँदो मे ३१ तरिक शनिवारका साँझ नेपाली बाहुल्य राज्य टेक्सासको अर्भिङ्ग स्थित युनिभर्सिटी अफ टेक्सासमा हुने कार्यक्रमका लागि अर्भिङ्ग आउन लागेका हुन् ।
विचार दृष्टिको माध्यमबाट जीवन बदलौं भन्ने मुल नारा सहित आयोजना हुन लागेको कार्यक्रमबाट ठुलो संख्यामा नेपालीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । शनिबार साँझ ५:३० बजेबाट सुरु हुने कार्यक्रम साँझ ८ सम्म संचालन हुनेछ । डा. रुईत टेक्सास आउने खबरले डालस क्षेत्रका नेपालीहरु उत्साहित देखिएका छन् ।
नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइत बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति (रुईतेक्टोमी)का सुरुवातकर्ता हुन्। तिलगंगा आँखा केन्द्रका निर्देशक समेत रहेका उनि विश्व स्वास्थ्य क्षेत्रका ख्यातिप्राप्त चिकित्सक हुन् । विश्व चर्चित रमन म्याग्सेसे पुरस्कार, भारत सरकारद्वारा पद्मश्री सम्मान , नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार , बहराइन राजाद्वारा ईसा पुरस्कार लगायतका सम्मानबाट सम्मानित डा. रुईतले विश्वका विभिन्न देशहरुमा गएर सेवा दिएका छन् ।








