✍️ शारदा धिताल | ओहायो, अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) ओहायो च्याप्टरद्वारा आयोजित ‘मिट एण्ड ग्रिट तथा अन्तरक्रिया कार्यक्रम’ ओहायो राज्यमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा अमेरिकाका लागि नव नियुक्त नेपाली राजदूत लोक दर्शन रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै ओहायोमा बसोबास गर्ने नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो।
कार्यक्रमको प्रमुख उद्देश्य यही आउँदो जुलाई २९ र ३० मा ओहायोमा आयोजना हुन लागेको राहदानी कन्सुलर सेवा शिविरबारे जानकारी दिनु, सेवा प्रभावकारी बनाउने उपायहरूमा छलफल गर्नु तथा समुदायसँग प्रत्यक्ष सम्वाद गर्नु रहेको थियो।
कार्यक्रमको अध्यक्षता NRNA ओहायो च्याप्टर अध्यक्ष होता राम विश्वकर्माले गर्नुभएको हो। प्रमुख अतिथि राजदूत रेग्मीले विद्यार्थी तथा महिलामुखी सेवाहरूलाई केन्द्रमा राख्दै ओहायोमै स्थायी कन्सुलर सेवा सुरु गर्ने सम्भावना अध्ययन भइरहेको बताउनुभयो।

उल्लेखनीय उपस्थिति
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल सरकारका लागि ओहायोस्थित महावाणिज्यदूत डा. दामोदर पौडेल, नियोग उपप्रमुख शरदराज आरण, राष्ट्रिय आविष्कार केन्द्र अमेरिका अध्यक्ष तथा NRNA NCC USA सल्लाहकार डा. सञ्जु महतो, ONF राष्ट्रिय समिति अध्यक्ष छबि पाण्डे, ANTA अध्यक्ष तौलेश्वर चौधरी, ग्लोबल पिपुल एलाईन्स अध्यक्ष काशी अधिकारी, CONA अध्यक्ष आनन्द तिवारी, ONF ओहायो अध्यक्ष विजय थापा, Everest Club America अध्यक्ष विज्ञान भट्टराई, कलाकार सरिता लामिछाने, र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन र प्रस्तुति
कार्यक्रम नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट सुरु गरिएको थियो भने पानस प्रज्वलन गरेर राजदूत रेग्मीले औपचारिक उद्घाटन गर्नुभएको थियो।
पञ्चकन्याहरूको स्वागत कार्यक्रम, खुला अन्तरक्रिया, तथा समुदायका समस्या र सुझावहरूको प्रस्तुति कार्यक्रममा समावेश थिए।

आयोजकको सक्रियता
कार्यक्रममा NRNA ओहायो कार्यसमितिका उपाध्यक्ष भिषण अधिकारी, महिला उपाध्यक्ष विनिता आचार्य, सचिव लोकेन्द्र देवकोटा, कोषाध्यक्ष डिल्लीराम केरुङ, युवा संयोजक विजय बुढा, महिला संयोजक शारदा धिताल लगायत हरिहर दाहाल, रेवती कँडेल, सागर चम्लागाईं, मनोज कुमार बुढा, सुरेश पोखरेल, शान्तिराम अधिकारी, दीपक भट्टराई, धनञ्जय भट्टराई आदि सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सचिव लोकेन्द्र देवकोटा र महिला संयोजक शारदा धितालले संयुक्त रूपमा गर्नुभएको थियो।

सांस्कृतिक प्रस्तुति र सहयोगी संस्था
एभ्रेष्ट कला केन्द्रद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजले सहभागीहरूको मन जितेको थियो।
कार्यक्रममा A1 Grocery & Rugs, Laxmi Jewellers, Everest Multi Tech, Ujeli Sushi, Kalash Event Center, Himalayan Daycare Center लगायतका संघसंस्थाहरूको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ।