अगस्ट ५, २०२५ – टेक्सास:
गैर आवासीय नेपाली संघ (NRNA) NCC USA २०२५–२७ कार्यकालका लागि दिपक भण्डारीले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारी जुलाई २४ मा दर्ता गरेका हुन्।
दिपक भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “NRNA सन् २००३ मा विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संस्था स्वरूप स्थापना गरिएको हो। तर आज यो संस्था केही व्यक्तिहरूका व्यक्तिगत स्वार्थका कारण विवादमा तानिएको छ।”
उनले ICC मा देखिएको विवाद समाधान हुने विश्वासका साथ NRNA अभियानमा आफू जोडिएको बताएका छन्। यद्यपि, पछिल्ला घटनाक्रमहरूले विवाद समाधान नभई अझ जटिल बन्दै गएको बताउँदै उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनको भनाइमा, जुलाई २६–२७ र अगस्ट १६–१७ मा हुने भनिएको निर्वाचन प्रक्रिया एउटै बनाएर संस्थालाई एकताबद्ध बनाउने प्रयास हुनुपर्ने थियो, तर त्यो सम्भव नभएकोमा दुःख व्यक्त गरेका छन्।
भण्डारीले नेपाल सरकार, NRNA ICC, सबै राष्ट्रिय समन्वय परिषद (NCC) तथा सम्बन्धित पक्षलाई संस्थाको एकतालाई खल्बल्याउने गतिविधिहरू तुरुन्त रोक्न र NRNA को मूल मर्मअनुसार अघि बढ्न आग्रह गरेका छन्।








