अमेरिका — गैर आवासीय नेपाली संघ (NRNA) अमेरिकाको राष्ट्रिय समन्वय परिषद् (NCC USA) को २०२५–२०२७ कार्यकालका लागि महिला उपाध्यक्ष पदमा दुर्गा तिवारीले औपचारिक उम्मेदवारी घोषणा गरेकी छन्।
“एकता, सहमति र जवाफदेहित्ता, सबल र समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता” भन्ने नारासहित उनले आगामी अगस्ट १६ र १७ मा हुने निर्वाचनमा आफ्नो पक्षमा समर्थन र अमूल्य मत दिन सम्पूर्ण अमेरिका वासि नेपाली समुदायलाई आह्वान गरेकी छन्।
दुर्गा तिवारी लामो समयदेखि अमेरिकामा रहँदै आएको र नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय सेवासँग सक्रिय रूपमा आबद्ध रहेकी व्यक्तित्व हुन्। समुदायमा महिला सशक्तिकरण, नयाँ पुस्तामा नेपाली भाषा–संस्कृतिको संरक्षण तथा आपत्कालीन अवस्थामा सहयोग अभियान सञ्चालन गर्दै आएको अनुभव उनले आफ्नो प्रमुख बलका रूपमा प्रस्तुत गरेकी छन्।

उनको भनाइअनुसार, “एनआरएनए केवल संस्थागत संरचना मात्र होइन, यो विदेशमा रहेका नेपालीहरूको साझा भावना, पहिचान र आवाज हो। यसलाई अझ सबल, पारदर्शी र समावेशी बनाउन म निरन्तर काम गर्नेछु।”
तिवारीले आफ्नो नेतृत्वमा महिला तथा युवाहरूको सहभागिता वृद्धि गर्ने, सबै राज्यका सदस्यहरूलाई समान अवसर उपलब्ध गराउने, र एनआरएनएको कार्यक्रमलाई व्यावहारिक तथा नतिजामुखी बनाउने लक्ष्य लिएकी छन्।

उनले अघिल्ला वर्षहरूमा विभिन्न सामाजिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली समुदायलाई एकजुट गर्ने, आवश्यकता परेका व्यक्तिहरूलाई सहयोग गर्ने र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने कार्यमा उल्लेखनीय योगदान दिएकी छन्।
आगामी निर्वाचनमा दुर्गा तिवारीको उम्मेदवारीलाई समुदायका धेरै सदस्यहरूले स्वागत गर्दै समर्थन जनाइरहेका छन्। अब निर्वाचनको मिति नजिकिँदै जाँदा उनको अभियानले अझ तीव्रता पाउने अनुमान गरिएको छ।