न्यूयोर्क, अगस्ट २०२५। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका कार्यसमिति (२०२५–२०२७ कार्यकाल) ले द्रोण गौतमलाई प्रवक्ता (Spokesperson) पदमा नियुक्त गरेको छ।
यो पदलाई अति महत्वपूर्ण, संवेदनशील र जिम्मेवारीपूर्ण ठान्दै अध्यक्ष श्री विकास उप्रेती तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूले द्रोण गौतमलाई योग्य ठहर गर्दै प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन्।
नियुक्तिपछि द्रोण गौतमले आफूलाई यो गरिमामय जिम्मेवारीका लागि योग्य ठहर गरेकोमा अध्यक्ष उप्रेतीसहित सम्पूर्ण कार्यसमितिप्रति आभार व्यक्त गर्दै भनेका छन्–
“तपाईंहरूले दिएको यो जिम्मेवारी मैले पूर्ण निष्ठा, इमान्दारिता र सक्दो दक्षताका साथ निर्वाह गर्ने प्रयास गर्नेछु। एनआरएनए एनसीसी अमेरिकाको कार्यसमिति, एनआरएनए अभियन्ताज्यूहरू, मिडियाकर्मी साथीहरू तथा सम्पूर्ण एनआरएन सदस्यहरूप्रति सहकार्य र सहयोगको अपेक्षा गर्दछु। आउनुहोस्, सबै मिलेर एकजुट भई सशक्त, समावेशी र सकारात्मक एनआरएनए निर्माण गरौँ। जय एनआरएनए! जय एनआरए।”
उनले आफ्नो कार्यकालमा एनआरएनएलाई अझ बढी पारदर्शी, प्रभावकारी र सदस्यमैत्री बनाउन जोड दिने बताएका छन्।