यस वर्षको गौरा पर्व भदौ १५ गते अर्थात् अगस्ट ३१ तारिखमा परेको छ। सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा मनाउनका लागि अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरूले धुमधामका साथ तयारी सुरु गरेका छन्। पर्वको मिति नजिकिँदै जाँदा सुदूरपश्चिमेलीहरूको बाक्लो बसोबास रहेका विभिन्न राज्यहरूमा गौरा पर्वको रौनक सुरु भएको छ।
अमेरिकामा रहेका सुदूरपश्चिम नेपाली समाजहरू द्वारा हरेक वर्ष गौरा पर्व भव्य रूपमा मनाइँदै आएको छ। यहाँको कार्यव्यस्त जीवनशैलीका कारण दशैं र तिहार बाहेकका प्रायः पर्वहरू शनिबार वा आइतबार बिदाको दिन पारेर मनाउने गरिएको छ। यस वर्ष भने भदौ १५ गते आइतबार बिदा परेको हुनाले प्रवासी सुदूरपश्चिमेलीहरू विशेष रूपमा उत्साहित छन्।
गौरा पर्व सुदूरपश्चिमको प्रमुख सांस्कृतिक चाड भएकाले अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरूले स्थानीय वातावरणअनुसार पर्वलाई मनाउने गर्दछन्। यस वर्षको गौरा पर्वका लागि अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, केन्टुकी लगायतका स्थानहरूमा विशेष तयारी थालिएको छ।
यसैबीच, अमेरिकाको भर्जिनिया राज्यमा रहेका सुदूरपश्चिमेलीहरूले आइतबार तिज तथा गौरा मिलन कार्यक्रम आयोजना गरी पर्व मनाइसकेका छन्।

टेक्ससमा अगस्ट ३० र ३१ मा गौरा पर्व मनाइँदै
टेक्ससमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरूले यस वर्षको गौरा पर्व अगस्ट ३० र ३१ तारिखमा भव्य रूपमा मनाउने भएका छन्। सुदूरपश्चिम नेपाली समाज, टेक्ससका उपाध्यक्ष नवराज भट्टका अनुसार, अगस्ट ३० मा अस्टिनमा र अगस्ट ३१ मा ड्यालसमा गौरा पर्वको विशेष कार्यक्रम आयोजना गरिनेछ।
यस वर्षको गौरा पर्वमा टेक्ससका सुदूरपश्चिमेलीहरूले चर्चित डेउडा गायिका रेखा जोशी र नेपाल आइडलका कलाकार रबि ओडको साथमा पर्व मनाउने भएका छन्। पर्वको अवसरमा गौरा देवीको पूजा, डेउडा, हुड्केउली, छलिया नृत्य लगायत सुदूरपश्चिमको संस्कृति झल्काउने विभिन्न प्रस्तुति रहनेछन्। अस्टिन निवासी सुदूरपश्चिम नेपाली समाज, टेक्ससका सदस्य सुरेन्द्र अवस्थीका अनुसार, यस वर्षको कार्यक्रम लाई अझै भब्य बनाउने प्रयास गरिएको छ ।
गत वर्षको गौरा पर्वमा सुदूरपश्चिमका चर्चित कलाकार नन्दकृष्ण जोशी र शंकरसिंह बिष्टले आफ्नो प्रस्तुतीमार्फत प्रवासी सुदूरपश्चिमेलीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
यस वर्ष ड्यालस र अस्टिनमा आयोजना हुने गौरा विशेष कार्यक्रममा सहभागिताका लागि सुदूरपश्चिम नेपाली समाज, टेक्ससले सम्पूर्ण सुदूरपश्चिमेलीहरूलाई आह्वान गरेको छ।
NEWS SOURCE : https://nepalikhabarilal.com/