ड्यालस टेक्सास
टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा आईतबारको मौसम निकै चिसो थियो । पूर्बनिर्धारित कार्यक्रम अनुसार मेघा होलीको तयारीको लागि नेपाली समाज टेक्सस र ईन्द्रेणी साँस्कृतिक संघका पदाधिकारी सदस्यहरु ड्यालसको सुन्दर पर्यटकिय स्थल ग्रेपभाईन लेक पुगि सकेका थिए । सिमसिम पानी, चिसो मौसमका कारण मेघा होली कार्यक्रम हुने नहुने भन्दै आयोजकका मोबाईलमा दर्जनौं घण्टी बज्न थाल्यो । आयोजकहरुलाई एकछिन त फेसबुक लाईभ तथा भिडियो सन्देश मार्फत जानकारी दिन भ्याईनभ्याई भयो ।
दिउसो ३ बजे पछि मौसममा सुधार भएपछि ड्यालस फोर्टवर्थका नेपालीहरु सपरिवार होली खेल्न ग्रेपभाईन लेक पुगे । एक आपसमा रंग लगाएर होलीको शुभकामना आदानप्रदान गरे । छबिराज सुनार लगायतका कलाकारहरुले बिभिन्न प्रस्तुती मार्फत सहभागिहरुलाई भरपुर मनोरन्जन दिए । बिभिन्न नेपाली गीत संगीतमा नाच्दै गाउँदै ग्रेपभाईन लेकलाई रंगीन बनाए ।
हामीले करिब ७ हजार नेपाली समुदायको अपेक्षा गरेका थियौं तर प्रतिकुल मौसमका कारण ३ हजार बढी नेपाली समुदाय मेघा होली कार्यक्रममा उपस्थित भएको नेपाली समाज टेक्ससका महासचिब बिजय भुसालले बताए ।
मेघा होली कार्यक्रम ड्यालस फोर्टवर्थ क्षेत्रमा सकृय नेपाली समुदायका करिब एक दर्जन संस्था समेतको सहभागितामा नेपाली समाज टेक्सस र ईन्द्रेणी साँस्कृतिक संघले आयोजना गरेको थियो । नेपाली पात्रो अनुसार यस बर्षको होली १३ मार्चमा परेको भएपनि सार्बजनिक स्थानको उपलब्धता र सबैलाई पायक पर्ने बिदाको दिन पारेर आईतबार मेघा होली कार्यक्रम आयोजना गरिएको नेपाली समाज टेक्ससले जनाएको छ ।
नेपाली समाज टेक्ससका महासचिब बिजय भुसाल तथा ईन्द्रेणी साँस्कृतिक संघका महासचिब तेज अर्यालको संचालनमा भएको मेघा होली कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले होली लगायतका नेपाली चाडपर्बले प्रवासी नेपालीहरुलाई थप एकताबद्ध र सुदृढ बनाउँदै मातृभूमिसंग जोड्न मद्दत गरेको बताए । हामी सबैका लक्षित समुदाय एउटै भएकाले नेपाली चाडपर्बहरु छुट्टा छुट्टै मनाउनु भन्दा संयुक्त रुपमा मनाउन नेपाली समाज टेक्ससले पहल गर्ने र त्यसका लागि सहयोग गर्न वाग्लेले सबैमा आह्वान गरे ।
साँस्कृति कार्यक्रममो संचालन मौसम भट्टराईले गरेका थिए ।










