March 16 Sunday अर्जुन न्यौपाने,
लुम्बिनी सेवा समाज अमेरिकाले नेपालबाट अमेरिका भ्रमणमा रहनु भएका बुद्ध परिपथका नगरपालिकाका प्रतिनिधि तथा अधिकृत सदस्यहरुलाई टेक्ससको यूलेसमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व सम्पदा सुचिमा सुचिकृत भगवान गौतमबुद्ध को पवित्र जन्मस्थल “ लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा समग्र विकासमा हाम्रो दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमा लुम्बिनी सेवा समाजको आफ्नै मौलिक पहिचान पन्चेबाजाको मीठो प्रस्तुति सहित प्रतिनिधिहरुलाई स्वागत तथा खादा टिका सहित सम्मान गरिएको थियो ।

बुद्ध परिपथका नगरपालिकाहरु तर्फबाट बुद्ध मावली मायादेवीको माईत देवदह नगरपालिका रुपन्देही नगर प्रमुख श्री ध्रुब प्रसाद खरेल, प्राचिन कपिलवस्तु नगरपालिका नगर प्रमुख श्री सुदिप पौडेल, रामग्राम नगरपालिका नवलपरासीका नगर प्रमुख श्री धनपत यादव ,तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत श्री नारायण अर्याल, नेपाल सरकारका उपसचिव श्री राम प्रसाद ज्ञवाली, बुद्ध जन्मस्थल लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीका लेखा अधिकृत श्री रामचन्द्र अर्याल र बुद्ध परिपथ नगरपालिकाका समन्वयकर्ता श्री तुलसीराम लामिछाने भ्रमण प्रतिनिधिमा रहनु भएको छ ।
कार्यक्रममा अधिकृत नारायण पोख्रेलले भ्रमणको उद्देश्यको बारेमा प्रकाश पार्दै बुद्ध परिपथमा रहेका बुद्धसँग सम्बन्धित स्थानहरुको परिचय र स्थानहरुको महत्वबारे जानकारी गराउनु भयो । नगर प्रमुख ध्रुब खरेलले समग्र देवदह बुद्ध मावली क्षेत्रभित्र रहेका बुद्धमाता मायादेवीका माईती स्थानहरुको परिचय दिँदै पछिल्लो समय नेपाल वृदहरुको भूमी हुँदै गईरहेकाले नेपाल फर्क अभियानमा लाग्न समेत आग्रह गर्नुभयो । कपिलवस्तु नगरप्रमुख सुदिप पौडेलले कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धित स्थानहरुको विशेषता जानकारी गराँउदै हामी नेपालीहरु जुन देश र स्थानमा रहेपनि बुद्धत्वको बारेमा प्रचार प्रसार आग्रह गर्नुभयो । त्यस्तै रामग्राम नगरप्रमुख गनपत यादवले रामग्राम, र त्रिवेणीधामको परिचय र महत्व दर्साउँदै बुद्ध सर्किटको अबधारणा प्रस्तुत गर्नुभयो । नगरपालिकाका समन्वयकर्ता श्री तुलसीराम लामिछानेले बुद्धभूमीको परिचय र महत्वलाई व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्ने आवश्यकताका बारेमा बुँदाहरु प्रस्तुत गर्नुभयो ।
टेक्सासको राजधानी अस्टिनमा टेक्सासको सभाले मार्च १३ लाई लुम्बिनी दिवसको रुपमा मनाउने घोषणा गरेको खबर सुनाउन पाँउदा आफूहरु उत्साहित रहेको भ्रमण टोलीका सदस्यहरुले व्यक्त गर्दै यस अभियानमा सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्नुभयो । पन्चेबाजाको मीठो प्रस्तुतिले आँफूहरुलाई नेपाली पनको आभास दिलाएको सहभागीहरुले खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा युलेस सिटी उप-मेयर टिका पौडेल नेपाली समाज टेक्सास का बरिष्ठ उपाध्यक्ष जनक भण्डारी प्रवक्ता किरण पौडेल, पूर्व अध्यक्ष राम चन्द्र पोख्रेल, आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।स्थानीय संघ संस्थाका प्रतिनिधि, समाजका कार्यसमिति पदाधिकारी, सदस्य, सल्लाहकार, कलाकार, लगाएतका व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमा अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षता तथा उपाध्यक्ष सरिता शर्मा को स्वागत मन्तव्य एवम् दिपक भण्डारीको संस्थाको समग्र परिचय तथा कार्यक्रमको संचालन सचिव टंक नाथ अधिकारीले गर्नुभएको थियो ।