त्रिभुवन विश्वविद्यालयले गत वर्षको २९ पुसमा परीक्षा लिएर परीक्षाफल समेत प्रकाशित गरेको एउटा विषयले विश्वविद्यालय र शिक्षा मन्त्रालयसम्म तरंग ल्याएको छ । स्नातकोत्तर तह प्रथम सेमेष्टरको क्वान्टम मेकान्सिकको प्रश्नमा कुल ४५ पूर्णांकमा ३५ अंक पाठ्यक्रम बाहिरबाट आएको र प्रश्नपत्र बाँडेर पुनः फिर्ता लिइएको अवस्थामा परीक्षा पुनः संचालन गरिएपछि यसको कानुनी वैधानिकतामाथि प्रश्न उठेको छ ।
विभिन्न चरणमा बैठक बसी छानविन समिति समेत गठन भई सो छानविन समितिले प्रश्नपत्रमा त्रुटी भएको निष्कर्ष निकालेको थियो । त्रुटीका रहेको निष्कर्षका बाबजुद तत्कालिन शिक्षाध्यक्ष तथा हालकी कार्यवाहक उपकुलपति प्राध्यापक सुधा त्रिपाठीले परीक्षा रद्द गर्नुनपर्ने गरी आठ बुँदे निर्देशन दिएकी थिइन् । छानविन समितिको निष्कर्ष र शिक्षाध्यक्षले विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राध्यापक रामप्रसाद खतिवडालाई दिएको आठ बुँदे निर्देशन गुपचुप राखिएको थियो ।
अवैधानिक कार्य गरी परीक्षाफल प्रकाशित गरिएको थियो । विद्यार्थीको विरोध, राष्टिय शतर्कता केन्द्रले प्रतिक्रिया माग्नुका बाबजुद परीक्षाफल प्रकाशित गरेपछि यसबारे सम्पूर्ण तथ्य माग्दै राष्टिय सूचना आयोगमा कानुन व्यवसायी आशिष पौडेल पुगेका थिए । उनले सूचनाको हक प्रयोग गरी सम्पूर्ण सूचना संकलन गर्दा कानुनको खिलाफ हुनेगरी परीक्षा लिइएको, परीक्षाफल प्रकाशित गर्न निर्देशन दिइएको र परीक्षाफल समेत प्रकाशित गरेको पाइएको थियो । छानविन समितिले त्रुटी उल्लेख गर्नाका बाबजुद त्यसलाई लत्याएर निर्णय लिएको तथ्य भेटिएको थियो ।