काठमाडौं,३ पुस । अमेरिका स्थित नेपाली राजदुतावासको आयोजनामा टेक्ससको ड्यालसमा शनिवार ३ दिने कन्सुलर सेवा शिविर सम्पन्न गरिएको छ । उक्त कन्सुलर सेवा शिविरबाट ५ सय १६ जना नेपालीले सेवा प्राप्त गरेका छन् । डिसेम्बर १५ तारिक विहिबारबाट टेक्ससको अर्भिङ स्थित नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी)को हलमा संचालित कन्सुलर शिविरबाट सेवाग्राहीले अपेक्षकृत रुपमा राहदानी नविकरण तथा गैर आवासिय नेपाली परिचय पत्र प्राप्त गरेका हुन् ।
३ दिने शिविर संचालनको अन्तिम तथ्यांक अनुसार अर्भिङ्गको शिविरबाट ४ सय ३१ जनाले पासपोर्ट र ८७ जनाले एनआरएन परिचयपत्र बनाएका छन् ।वासिंगटन डिसि स्थित नेपाली दुतावासका द्वितीय सचिव उत्तम घिमिरे, तृतिय सचिव राधारमण दुब्वे र एम्वेसी अफिसर कुमार श्रेष्ठको प्रत्यक्ष सहभागिता रहेको शिविरबाट अपेक्षा गरिए अनुरुप नै सेवाग्राहीले सेवालाभ प्राप्त गरेको जानकारी दुतावास प्रतिनिधिहरुले दिएका छन् ।
नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीका अनुसार नेपाली बाहुल्यता रहेको क्षेत्र टेक्सस डालसमा सम्पन्न यस शिविरमा उपस्थितहरुको सहभागिता संख्या र कन्सुलर सेवाग्राहीको आवश्यकतालाई हेर्दा अमेरिकाको दक्षिण पश्चिम क्षेत्रको लागि टेक्ससमा स्थायी कन्सुलेट कार्यालय राख्नका लागि दुतावास र नेपाल सरकारको ध्यान जानुपर्ने बताएका छन् । उप्रेतीका अनुसार स्थायी कन्सुलेट अफिस राख्न पहल गरिने र हरेक वर्ष यस प्रकारका शिविर संचालनका लागि क्यालेण्डर तयार गर्ने योजनामा पनि आयोजक संघ(संस्थाविच छलफलको योजना बनेको छ ।
एनआरएन टेक्सस च्याप्टर र नेपाली समाज टेक्ससको समन्वयमा आयोजित कार्यक्रममा सहभागिहरुले यस कन्सुलर शिविरबाट सहज रुपमा आफुहरुले सेवा प्राप्त गर्न सकेको भन्दै खुसि व्यक्त गरेका छन् ।एनआरएन च्याप्टर अध्यक्ष सोफिन थापाले दुतावास संगको सहकार्यमा संचालित अर्भिगंको कन्सुलर शिविरबाट धेरै नेपाली सेवाग्राही लाभाम्वित हुनुका साथै थप प्रभावकारी कार्यक्रमका लागि वातावरण सृजना भएको बताउदै डिसेम्बर १८ र १९ तारिकका दिन अस्टिन स्थित क्यन्स हल कन्ट्री रोड हुट्टोमा र २० तारिकका दिन ह्युस्टनको रिचमण्ड एभ मा सोही प्रकारको शिविर संचालन हुने जानकारी पनि दिएका छन् ।
अस्टिन र ह्युस्टनमा आयोजना हुने शिविरहरुबाट पनि नेपाली समुदायले प्रभावकारी परामर्ष सहितको सेवा प्राप्त गर्न सक्ने जानकारी दिएका च्याप्टर अध्यक्ष थापाले सेवा प्रादायक यस कन्सुलर शिविरबाट आवश्यका अनुरुपमा सेवा लिन सो क्षेत्रका नेपाली समुदायलाई अनुरोध पनि गरेका छन् ।







