टेक्सास, अमेरिका
नेपाली राजदुताबास अमेरिकाद्वारा टेक्सास ड्यालस क्षेत्रका नेपाली समुदायलाई लक्षित गरि सन्चालन गरिएको ३ दिने कन्सुलर सेवा शिबिरबाट ५ सय १८ जना नेपाली समुदाय प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।
अर्भिङ स्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको भवनमा सन्चालित उक्त शिबिरमा ८७ जनाले गैरआवासिय नेपाली परिचय पत्र र ४ सय ३१ जनाले नेपाली पासपोर्ट प्राप्त गरेको नेपाली राजदुताबास अमेरिकाका द्वितीय सचिब उत्तम घिमिरेले जानकारी दिनु भयो ।
अमेरिकाको टेक्सासमा रहेका नेपाली समुदायलाई सर्वसुलभ रुपमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले नेपाली राजदुताबासले डिसेम्बर १५ देखि १७ तारेख सम्म ड्यालसको अर्भिङमा कन्सुलर शिबिर सन्चालन गरेको थियो ।
द्वितीय सचिब घिमिरेका अनुसार कन्सुलर सेवा शिबिरमा राजदुताबासका सेवाहरु प्रदान गर्नुका साथै बिभिन्न बिषयमा परामर्श सेवा उपलब्ध गराईएको थियो । शिबिरमा टेक्सासको ड्यालस क्षेत्रमा कृयाशिल रहेका गैरआवासिय नेपाली सँघ अमेरिका, टेक्सास च्याप्टर, नेपाली समाज टेक्सास, नेपाली साँस्कृति तथा अध्यात्मिक केन्द्र लगायतका सँस्थाहरुले स्थानीय स्तरमा व्यवस्थापनमा सहयोग गरेका थिए ।
कन्सुलर शिबिर समापन कार्यक्रममा नेपाली समुदायको तर्फबाट गैरआवासिय नेपाली सँघ अमेरिका, टेक्सास च्याप्टरका अध्यक्ष सोफन थापा र नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली राजदुताबासले सर्बसुलभ रुपमा नेपाली समुदायलाई सेवा उपलब्ध गराएकोमा धन्यबाद दिनु भएको थियो ।
नेपाली राजदुताबासले कन्सुलर सेवा शिबिर हरेक बर्ष निरन्तर रुपमा सन्चालन गर्नु पर्ने कुरामा जोड दिदै नेपाली राजदुताबासले पासपोर्ट र गैरआवासिय नेपाली परिचय पत्रका अतिरिक्त थप सेवा पनि उपलब्ध गराउन पहल गर्नु पर्ने कुुरामा थापा वाग्लेको जोड थियो ।
नेपाली समाज टेक्सासका महासचिब तथा कन्सुलर सेवा शिबिर ब्यवस्थापन समितिका सँयोजक सन्देश उप्रेतीको सन्चालनमा सम्पन्न समापन समारोहमा नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष दिनेश शर्मा, गैरआवासिय नेपाली सँघ अमेरिका राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष बिकास उप्रेतीले पनि नेपाली समुदाय रहेको घरदैलोमा नै कन्सुलर सेवा शिबिर मार्फत सेवा उपलब्ध गराउने दुताबासको कार्यको प्रशँसा गर्नु भएको थियो । यसै गरि नेपाली राजदुताबास अमेरिकाका द्वितीय सचिब उत्तम घिमिरेले कन्सुलर सेवा शिबिर सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबै नेपाली समुदायलाई धन्यवाद दिनु भएको थियो ।
नेपाली राजदुताबासको आयोजनामा टेक्सासको अस्टिनमा डिसेम्बर १८ र १९ तारेखमा र डिसेम्बर २० तारेखमा ह्युस्टनमा कन्सुलर सेवा शिबिर सन्चालन हुने नेपाली राजदुताबासले जनाएको छ । अस्टिन र ह्युस्टनमा सन्चालन गरिने कन्सुलर सेवा शिबिरको स्थानीय नेपाली सँस्था ग्रेटर अस्टिन नेपाली समाज अस्टिन, नेपाली समाज ह्युस्टन र क्रियटिभ नेप्लिज सोसाईटी लगायतका सँस्थाहरुले सहजिकरण तथा व्यवस्थापनमा सहयोग गर्ने बताईएको छ ।
तपाईको प्रतिक्रिया के छ?